दारको काठबाट बनाइएको ठेकीको उपयोग

१. दार रुखको परिचय
नेपालीमा दार वा गित्थी वा पारो भनेर चिनिने यसको बोटानिकल नाम Pouzolzia rugulosa हो जुन Urticaceae परिवार अन्तर्गत पर्दछ । सन् २००९ बाट यसको बोटानिकल नाम Pouzolzia rugulosa लेख्न सुरु गरिएको छ । जर्मन वनस्पति शास्त्री Georg Rutholf Boehmer को सम्मानमा यसको वानस्पतिक नाम बोइमर राखिएको हो ।
यो एक सानो देखि उचाइमा ३० फिट सम्म हुने मध्यम आकारको सदाबहार रुख हो । यसको पात लाम्चो र लामो र टुप्पोतिर चुच्चो परेको, अल्टरनेट भई तीन वटा मुख्य नशाहरू र पातको किनारामा दाँतीहरू रहेको हुन्छ । पातको माथिल्लो सतहमा रातो थोप्लाहरू हुन्छन् भने तल्लो सतह नरम मखमली (सेतो) हुन्छ । पातको लम्बाई ५.५ देखि १८ सेन्टिमिटर सम्म लामो र २ देखि ४.५ से.मि. चौडाइको हुन्छ । यसको बोक्राको रङ्ग गाढा खैरो भई माथिल्लो सतहमा स–साना मध्यम चतुरभुजाकार खस्रो र गहिरो चिरा वा धाँजाहरू फाटेको हुन्छ ।
यसको काठ गाढा रातो, मध्यम किसिमको कडापना तथा तौल भएको चिल्लो र समान वा एकैनासे दानादार हुन्छ । यसको फूल सानो हरियो रङ्गको भई साधारण किसिमको स्पाईक (सानो डाँक्ला) मा अडिएर रहेको हुन्छ । यसको फल दुवै तिर चुच्चो परेको सुख्खा, एकबिजिय हुन्छ । यो प्रकाश मन पराउने (Light Demander), सुक्खा खप्ने (Draught Hardy), तुसारो नसहने (Frost Tender) र पानी नजम्ने , हल्का भिरालो स्थानमा राम्रो सँग हुर्कने प्रजाति हो । यसले साना बिरुवा हुँदा मुना राम्रो दिएता पनि ठुलो रुख भएपछि कम मुना मात्र दिन्छ ।
वन विभाग (२०७७) अनुसार यो प्रजाति समुद्र सतहबाट ३०० देखि १७०० मिटरको उचाइमा नेपाल लगायत भारतको गढवाल तथा भुटान सम्म केही भिरालो तथा सुख्खा पाखाहरूमा पाइन्छ । नेपालमा यो प्रजाति प्रायजसो माथिल्लो उचाइको साल वन तथा १५०० मिटर सम्मको टुनी, चाँप, गमारी, सौरका वनमा पूर्वदेखि पश्चिम सम्म ३९ वटा जिल्लामा पाइन्छ ।
दार पाइने मुख्य स्थानमा उदयपुर, धनकुटा, पाँचथर, इलाम क्षेत्र, मकवानपुर, चितवनको र नुवाकोटको त्रिशूली क्षेत्र, गोर्खा, तनहू पर्वतको काली गण्डकी किनार, पाल्पा, गुल्मी, दाङको चुरे क्षेत्र, सल्यान, जाजरकोट, सुर्खेत, र डोटी र डडेलधुराको चुरे क्षेत्र दारका जङ्गलहरू रहेका छन् ।
२.उपयोगिता
यसको सबैभन्दा बढी र हामीलाई थाहा भएको उपयोगिता चाही काठबाट बनाइने भाँडाकुँडाको लागि हो । यो प्रजातिको काठको स्पेसिफिक ग्राभिटी ०.६५ रहेको हुनाले तुलनात्मक रुपमा अन्य प्रजातिको भन्दा यसको तौल कम हुन्छ जसले भाँडाहरू तुलनात्मक रुपमा हलुका र सहज हुन्छन् ।
यसको काठ मुलत पहाडी भेगमा विभिन्न किसिमका भाँडाकुँडाहरू जस्तै कप, प्लेट, हर्पे, दुधेरो (दूध दुहुने भाँडो), ठेकी (दही राख्ने वा जमाउने भाँडो) आदि बनाउन प्रयोग गरिन्छ । यी काठका भाँडाकुँडामा खाद्य वस्तु भण्डारण गरेमा खाद्यवस्तुको स्वाद राम्रो हुने र दही राम्रोसँग जम्ने विश्वास गरिन्छ ।बिशेषत यसको काठबाट बनाइएको ठेकिमा दुधको दहि जमाएर उपयोग गर्ने गरिएको छ । मकवानपु जिल्लामा बनाइएको ठेकी नेपालभरी प्रसिद्ध रहेको छ ।
यसको अर्को अत्यधिक प्रयोग डाले घाँसको लागि हुने गरेको छ । गाईबस्तुले निकै मन पराउने हुनाले जङ्गलको प्राकृतिक अवस्थामा र किसानले सुक्खा याममा घाँसको रुपमा खपत गर्ने गरेका छन् । यसैगरी यसको औषधीय महत्त्व पनि रहेको छ ।
यो प्रजातिको बोक्रा काटेको घाउबाट रक्तस्राव रोक्न र घाउ चाँडै निको गराउनमा प्रयोग गरिन्छ । यसको बोक्रामा हुने चिप्लो पदार्थ सेल रोटी तथा कोदोको रोटी फुलाउनको लागि समेत प्रयोग गर्ने गरिन्छ भने छालामा फोका उठेमा सोको उपचारमा समेत स्थानीय समुदायहरूले यसको प्रयोग गर्ने गरेको पाइन्छ ।
त्यसै गरी यसको पातलाई कुटेर पेस्ट बनाई धाउमा र हातखुट्टा भाँचिएकोमा र मधुमेह रोगको परम्परागत उपचारमा प्रयोग गरिन्थ्यो तर अहिलेको आधुनिक औषधि पद्धतिमा यो चलन क्रमशः कम हुदैंछ । साथै यो कमजोर, भिरालो जमिन, सुक्खा क्षेत्रमा पनि सहज हुर्कने हुनाले क्षतिग्रस्त जमिन र भू क्षयको पुनर्स्थापनामा निकै उपयोगी मानिन्छ ।
Post No : 02